(१) कुटनैतिक प्रतिनिधिलाई देहायका मुद्दामामिलामा बाहेक सबै फौज्दारी, देवानी तथा प्रशासकीय अधिकार क्षेत्रबाट उन्मुक्ति हुनेछः–
(क) नियोगको निमित्त विदेशी राज्यको तर्फबाट राखेकोमा बाहेक कुटनैतिक प्रतिनिधिको नेपालभित्रको निजी अचल सम्पत्तिको सम्बन्धमा उठेको मुद्दामामिला,
(ख) विदेशी राज्यको हकमा नभई कुटनैतिक प्रतिनिधिको व्यक्तिगत हैसियतमा उत्तराधिकार सम्बन्धमा उठेको मुद्दामामिला, र
(ग) कुटनैतिक प्रतिनिधिले आफ्नो औपचारिक कार्य भन्दा बाहिर कुनै व्यवसाय वा व्यापार सम्बन्धी काम गरेकोबाट उठेको मुद्दा मामिला ।
(२) कुटनैतिक प्रतिनिधिलाई साक्षी बक्न कर लाग्ने छैन ।
(३) कुटनैतिक प्रतिनिधि उपर उप–दफा (१) को खण्ड (क), (ख) र (ग) अन्तर्गतको मुद्दा मामिलामा बाहेक अरुमा फैसलाको कार्यान्वयनको सम्बन्धमा कुनै कारवाही चलाइने छैन र कारवाही चलाउन पाउनेमा पनि कुटनैतिक प्रतिनिधिको व्यक्तिगत वा आवासको अनतिक्रम्यतालाई भङ्ग गरिने छैन ।
(४) यस दफामा जे सुकै लेखिएको भए तापनि उपर्युक्त अधिकार क्षेत्रबाट उन्मुक्ति पाउने कुटनैतिक प्रतिनिधिलाई आफूले चलाएको मुद्दामामिलाको सिलसिलामा प्रतिवादीको दावी जिकीरको सम्बन्धमा त्यस्तो उन्मुक्ति हुने छैन ।